झापाको बिर्तामोड नगरपालिका वडा नं.२ को साविक चारपाने गाविस वडा नं.२ देखि ९ सम्मका पुन: नाप नक्सा भएर दर्ता भएका जग्गाहरुको धनीपुर्जा वितरण गर्न थालिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले ७६ वर्षीय देवीप्रसाद सापकोटालाई धनीपुर्जा दिएर वितरण कार्य शुभारम्भ गरेकी हुन् ।
साविक चारपाने गाविसको जग्गा पुन: नाप नक्सा गरी दर्ता गर्न २ नं. नापी टोलीले २०७७ असार १० गतेदेखि काम सुरु गरेको थियो । २ नं नापी टोलीले पुन: नाप नक्सा कार्य सम्पन्न गरी हाल साविक गरेका जग्गाहरुको धनी पूर्जा वितरण सुरु गरेको जनाइएको छ ।
२ नं नापी टोलीका प्रमुख सरोजकुमार बि.क.को अध्यक्षता तथा नगर प्रमुख प्रसाईंको प्रमुख आतिथ्यमा भएको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नापी कार्यालय चन्द्रगढीका प्रमुख सुनिल आनन्द, विशेष नापी टोली दमकका प्रमुख दिलिपकुमार सिंह, २ नं वडाका वडाध्यक्ष किशोरकुमार पौड्याल, १ नं वडाका वडाध्यक्ष अग्निप्रसाद पाण्डेलगायतले आ-आफ्ना धारणा राखेका थिए ।
२ नं नापी टोलीले तीब्र रुपमा कार्य गरिरहेपनि अहिलेसम्म साविक चारपाने गाविसका ३७ प्रतिशत जग्गाधनीहरुले दर्ता गरेको टोली प्रमुख बि.कले बताए । उनले लामो समय टोली नरहने भएकाले छिटोभन्दा छिटो आएर आ-आफ्नो जग्गाको हाल साविक गराउन आग्रह गरेका छन् ।
उनीहरुले चन्द्रगढीमा गएर हाल साविक गर्नुपर्दा भन्झटिलो र खर्चिलो हुने भएकाले टोली आएकै बेला आ-आफ्ना जग्गाको हाल साविक गर्न आग्रह गरेका थिए ।
सर्वेक्षक सलबहादुर तामाङले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालयका लेखापाल देवेन्द्र चापागाँईले गरेका थिए ।







