आईसीसी विश्वकप लिग-२ को त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ ।
अमेरिकाले दिएको दुई सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर पाँच बलमा दुई सय ४४ रनमा अलआउट भएको हो ।
नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए भने सोमपाल कामीले ४६ रन बनाए । अमेरिकाका सौरभ नेत्रावलकरले चार विकेट लिएका थिए ।
त्यसअघि डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो ।
अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए भने कप्तान मोनांक पटेलले ६७ र हरमित सिंहले ५९ रन बनाए । नेपालका गुलशन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए ।
लिग-२ अन्तर्गत यो शृङ्खलाको पहिलो खेलमा पनि नेपाल घरेलु टोली अमेरिकासँग तीन विकेटले पराजित भएको थियो भने नेपालले आफ्नो दोश्रो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो ।







