कोशी प्रदेशका विभिन्न पालिकाबाट ४४ जना सडक मानवकोे उद्धार भएको छ ।
चार दिनको अवधिमा तराईका झापा, मोरङ, सुनसरी र उदयपुरबाट ४४ जना सडक मानवको उद्धार भएको मानव सेवा आश्रमले जनाएको छ । सडकका पेटी, चौतारालगायतका सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका बेवारिसे सडक मानवको उद्धार भएको हो ।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा झापाको काँकडभिट्टाबाट सडक मानवको उद्धारका लागि ३२ दिने अभियान सुरु भएको थियो । सो अभियानअन्तर्गत सडक मानवको उद्धार भएको मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले बताए ।
‘पारिवारिक कलहका कारण घरपरिवार छोडेर हिडेका, अपहेलनामा परेका, आफन्त नभएका, वर्षौदेखि साङ्लोमा बाँधेर राखिएका मानवलाई उद्धार गरिएको हो,’ आश्रमका संस्थापक अध्यक्ष अधिकारीले भने । उनका अनुसार उद्धार भएका सडक मानवको संरक्षण, औषधी उपचार, खानपान र सम्भव भए पारिवारिक पुनर्मिलनसमेत आश्रमले गराउने छ ।
असोज २८ गतेबाट पूर्वको मेचीनगरनगर नगरपालिकाबाट सुरु भएको यात्राको चौथो दिन कात्तिक १ गतेसम्मको अवधिमा उदयपुरको गाईघाटसम्म आइपुग्दा कोशी प्रदेशबाट ३५ पुरुष र ९ महिला गरी ४४ जनाको उद्धार भएको छ ।
झापाबाट १२ जनाको उद्धार गरिएको थियो । त्यस्तै यात्राको दोस्रो दिन मोरङ जिल्लाबाट ४ जना र तेस्रो दिन सुनसरी जिल्लाबाट १२ जना, बिहीवार उदयपुर जिल्लाबाट १६ गरि कोशी प्रदेशमा ४४ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष अधिकारीले जानकारी दिए ।







