झापाको गौरीगञ्चमा आगलागी भएको छ ।
आज बिहान ९ बजेतिर गौरीगञ्च गाउँपालिका वडा नं.६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा आगलागी भएको हो ।
टिनको छाना भएको, इटा र सिमेन्टको गारो भएको राजवंशीको ५ कोठे पक्की घरमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा करिब ३१ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट राजवंशीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । उनको घरभित्र रहेको नगद ५ लाख ५० हजार, साढे ३ तोला सुन, चाँदी ५० तोला, अन्नपात, काठ, लत्ताकपडा, भाडावर्तन र कागजपत्र गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै सोही घरमा डेरा गरी बस्ने मेघनाथ राजवंशी र मोहन दासको पनि क्षति भएको छ ।
गौरीगञ्च गाउँपालिका-६ घर भई सोही घरमा डेरा गरी बस्ने लेखापढी व्यवसायी राजवंशीको कोठाभित्र रहेको नगद १० हजार, सुन २ तोला, चाँदी ७ तोला, अन्नपात, लत्ताकपडा, भाडावर्तन, कागजपत्र, नागरिकता, धनीपुर्जा जलेर नष्ट भएको हो । उनको ४ लाख बराबरको क्षति भएको जनाइएको छ ।
त्यसैगरी गौरीगञ्च गाउँपालिका-६ घर भई सोही घरमा डेरा गरी बस्ने दासको कोठाभित्र रहेको चाँदी १० तोला ,अन्नपात, लत्ताकपडा, भाडावर्तन र कागजपत्र जलेको छ । उनको पनि करिब २ लाख बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्चको टोली, गौरादह, दमक र कमलको दमकल र स्थानीयबासीको सहयोगमा उक्त आगो १०:०५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।







