बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिलाई मेसिन वितरण गरेको छ ।
नगरपालिकाको कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै आठ जना उद्यमशिल महिलालाई सिलाई मेसिन र दुई वटा समूहलाई ईलेक्ट्रोनिक मेसिन वितरण गरिएको हो ।
इलेक्ट्रोनिक मेसिन प्राप्त गर्ने बिर्तामोड-२ को लालीगुराँस लघुउद्यमी समूह र सृजनशिल लघुउद्यमी समूह रहेको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिइन् । तामाङका अनुसार सिलाई मेसिन प्राप्त गर्ने वडा नम्बर ७ का पाँच जना, ४ का एक जना, १ को एक जना र ३ को एक जना महिला रहेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले स्वरोजगार बन्नका लागि नगरले प्रदान गरेको मेसिन सदुपयोग गर्न आग्रह गरेकी छन् । उनले यसअघि बाँढिएका विभिन्न प्रकारका प्रविधिको उपयोग भइरहेको छ कि छैन भन्ने कुराको अनुगमन गर्ने पनि बताइन् । 
नगर प्रमुख प्रसाईंले उद्योग स्थापना गर्न नसक्नेले पनि सिपलाई रोजगारसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर जिविकोपार्जन सकिने बताएकी छन् ।
नगरपालिकाले लघुउद्यमी बन्नका लागि सिपमुलक तालिम प्रदान गरेर प्रविधि हस्तान्तरण गर्दै आएको छ ।
आर्थिक विकास समिति संयोजक संगिता शिवाको अध्यक्षतामा आयोजित प्रविधि हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं लगायतको उपस्थिति रहेको थियो ।







