अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५:१५ बजे सुरु हुनेछ ।
नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।
विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ । दक्षिण अफ्रिकाले श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।
त्यस्तै, नेपालले यसअघि दुई खेल खेलेकामा एक खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।







