नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउन कम्तीमा ६ महिना लाग्न सक्ने डाक्टरहरुले बताएका छन् ।
अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएपछि थप आशा बढाएको छ । तर नेपालमा यसको प्रभाव र खोप ल्याउने प्रक्रिया कस्तो हुन्छ भन्नेमा भर पर्ने डाक्टर राजभण्डारीले बताउनुभयो ।
विभिन्न अध्ययन अनुसार ‘सार्स कोभ-२’ म्युटेड भएर ६ किसिमको देखिइसकेको छ । अर्थात् एउटै भाइरस छुट्टिएर केहीले गम्भीर र केहीले सामान्य लक्षण देखाउने ट्रेन्ड देखिएको छ ।
भाइरसको ‘आरएनए’ ठाउँ र मौसमअनुसार फरक हुन सक्छ । त्यसैले एक ठाउँमा बनेको खोप अर्को मौसम र ठाउँमा प्रभावकारी नहुन पनि सक्ने उहाँको भनाइ छ । तर, कोभिड-१९ विरुद्ध निर्माणाधीन खोपहरूलाई भाइरसअनुसार म्युटेट नहुने खालको बनाइएको भनिएको छ ।
त्यसकारण खोप प्रभावकारी हुने विश्वास गर्न सकिन्छ । तर अहिलेसम्म प्रयोगमा नआएकाले यकिनका साथ भन्न सकिने अवस्था भने नभएको डाक्टर राजभण्डारीले बताउनुभयो । अमेरिका लगायत देशमा कोरोना भाइरस संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ ।







