ललितपुर मेयर्स कपको आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले ललितपुर मेयर्स-११ लाई ६ विकेटले हराउँदै सान्त्वना जित दर्ता गरेको छ ।
ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर भेटाएको हो ।
कोशीका लागि ओपनर काजल श्रेष्ठले ३६ रन बनाएर अविजित रहिन् भने टिका शाहले२५ रन जोडेकी थिइन् ।
ललितपुरका लागि कृतिका मरासिनीले ३ विकेट लिइन् भने सरस्वती कुमारले १ विकेट लिएकी थिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८८ रन जोडेको थियो ।
ललितपुरका आश्मा पुलामी मगरले २६ रनको अविजित इनिङ खेलिन् भने किरन कुँवरले १३ रन जोडिन् । अन्य ब्याटरले भने दोहोरो अंक छुन सकेनन् ।
कोशीका लागि कप्तान अप्सरी बेगम एक्लैले ३ विकेट लिइन् भने एलिशा खाडियाले २ विकेट तथा सबनम राई र हिरणमाए रोयले समान १-१ विकेट लिएका थिए ।







