तीस वर्षकै उमेरमा दुवै मिर्गौला बिग्रिएर उपचार अभावमा रहेकी अर्जुनधारा नगरपालिका वडा नं.५ फूलवारीकी केशवती राजवंशीलाई लायन्स क्लब अफ बिर्तामोड लेडीले सहयोग गरेको छ ।
लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरू उप्रेती ओली नेतृत्वको टोलीले केशवतीको घरमै पुगेर नगद, खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो ।
श्रीमानसँग सात वर्षअघि सम्बन्ध बिच्छेद गरी १३ वर्षकी छोरी रश्मी राजवंशीलाई माइतमा राखेर केशवती वैदेशिक रोजगारीका लागि दुबई गएकी थिइन् । करिव पाँच महिनाअघि दुबईमै दुईवटै मिर्गौला फेल भएको चिकित्सकले बताएपछि नेपाल फर्केर उनी माइतमा आश्रय लिइरहेकी छन् । उपचारसँगै खाने र बस्ने समस्याबाट समेत उनी गुज्रिरहेकी छन् ।
केशवतीलाई उनकी आमाले प्रत्यारोपणका लागि मिर्गौला दिन खोजिरहेकीले र विरामीलाई खान, बस्न र उपचारमा असाध्यै समस्या भएको खबर सुनेर केही लत्ताकपडा, खाद्यान्नसहित उपचारमा सहज होस् भनी जीवन रक्षाको लागि केही नगद सहयोग गरेको अध्यक्ष ओलीले जानकारी दिइन् ।







