झापाको शिवसताक्षीमा बोलेरो र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा कमल गाउँपालिका-४ बस्ने २० वर्षीय युनिस भण्डारी, सोही ठाउँ बस्ने १७ वर्षीय सरोज रेग्मी र २५ वर्षीय मोटरसाइकल चालक मौसम राई रहेका छन् ।
आज बिहान ५:३० बजेको समयमा शिवसताक्षी-८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा कमलबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नं को १५० सीसीको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्र.१–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ । बोलेरो चालक मेचीनगर-६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।







