नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग चार विकेटले पराजित भएको छ ।
योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ । हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’टोलीसँग खेल्ने छन् ।
१४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हङकङका अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्कासहित ६५ रनमा नट आउट रहे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे । बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भएका थिए ।
नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका थिए ।
यसअघि ओमानको अल अमिरात मैदानमो टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रन बनाएका थिए ।
यस्तै सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुल्सन झाले छ, आशिफ शेखले पाँच, करण केसीले तीन र ललित राजवंशीले दुई रन बनाए । हङकङका आयुष शुक्लाले तीन विकेट लिएका थिए ।







