झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कूल अफ म्यानेजमेन्ट कलेजले असत्य मार्गः लागूऔषध दुव्र्यसनविरुद्धको उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय स्कूल तथा कलेजमा अध्ययनरत् विद्यार्थी लागूऔषध दुव्र्यसनमा फस्दै गएकाले आफ्नो कलेजमा अध्ययनरत् विद्यार्थीलाई लागूऔषध दुव्र्यसनबाट जोगाउन यस्तो कार्यक्रम राखिएको आदर्श स्कूल अफ म्यानेजमेन्ट कलेजका निर्देशक सञ्जोग खरेलले बताए । उनले अहिलेको समयमा बिद्यार्थीहरुका लागि लागूऔषध, साईबर क्राईम लगायत विभिन्न प्रकारका सचेतना कक्षाहरु दिन अति आवस्यक रहेकोले आफूहरुले उक्त कार्यक्रम गरेको बताए ।

आदर्श स्कूल अफ म्यानेजमेन्ट कलेजकी एकाडेमिक डाइरेक्टर विजया भण्डारीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुनर्जन्म समूह नेपालका सञ्चालक राजु गिरीले प्रशिक्षण प्रदान गरेका थिए ।
उनले विद्यार्थीहरुलाई लागू औषध के हो, लागू औषधको कुलतमा किशोर–किशोरीहरु कसरी फस्छन्, लागू औषधको कारोबार गर्ने वा सेवनकर्तालाई कानुनी कार्वाही के हुन्छ लागू औषधको दलदलमा फसेका युवालाई छुटाउने उपाय, कुलतबाट छुटाउन युवाको भुमिका लगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले पछिल्लो समय विद्यालयमा अध्ययनरत् विद्यार्थीहरु लागूऔषध दुव्र्यसनमा फस्दै गइरहेको बताए । प्रहरी मात्रैले यो समस्या समाधान गर्न नसक्ने भएकाले लागूऔषधको ओसारपसार, प्रयोग र रोकथाममा सबैले सहयोग पुर्याउनुपर्ने उनको भनाई छ । कलेज जाने विद्यार्थीले लागूऔषध दुव्र्यसनमा लागेर लुकिछिपी रुपमा लागूऔषधको प्रयोग र सेवन गर्ने गरेको पाइएकाले त्यस्ता विद्यार्थीहरुलाई कडाभन्दा कडा कार्वाही गरिने बताउँदै उनले आजैबाट असत्यको मार्ग नहिंड्न र लागूऔषध दुव्र्यसनबाट टाडै रहन विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको आदर्श स्कूल अफ म्यानेजमेन्टका अतिरिक्त क्रियाकलाप संयोजक दीपक दासले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीहरुले लागूऔषध दुव्र्यसनविरुद्धको गीत, नृत्य , नाटकलगायत विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेको उनले बताए । पूर्वाञ्चल उच्च मावि, पाटा नेपाल, आदर्श व्याङक्वेट, सुरुवाती कोठा नेपालले संयोजन गरेको कार्यक्रमको सञ्चालन विद्यार्थीहरु अन्सु कार्की र जोन उप्रेतीले गरेका थिए ।







