कोशी प्रदेश सरकार अल्पमतमा परेसंगै केन्द्रीय सत्तासमीकरण अनुसार कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले सरकार गठनको आन्तरिक तयारी गरेका छन् । हिक्मत कार्की नेतृत्वको सरकारमा रहेको माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । संवैधानिक व्यवस्था अनुसार कार्कीले एक महिनामा विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रदेशसभामा अहिलेको अबस्थामा कार्कीलाई विश्वासको मत प्राप्त हुने संभावना छैन । प्रदेशमा सरकार बनाउन चाहिने बुहमत संख्या नयाँ समीकरणमा भएकाले केन्द्रीय निर्देशन अनुसार अघि बढ्नेगरि आन्तरिक छलफल भइरहेको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङवोले बताउनुभयो ।
९३ सदस्यीय रहेको प्रदेशसभामा नयाँ समीकरणमा रहेका कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकिकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । एमालेका ४० र राप्रपाका ६ सांसद छन् । सरकार बनाउनलाई आवश्यक पर्ने बुहमत संख्या केन्द्रीय सत्तासमीकरण संग रहेको छ । प्रदेशमा माओवादी केन्द्रको सभामुख र एमालेको उपसभामुख रहदा नयाँसमीकरणमा ४६ र एमाले राप्रपाको गठबन्धनसंग ४५ मत हुन आउछ । जसले गर्दा केन्द्रीय सत्तासमीकरण अनुसार सरकार बन्ने निश्चीत छ ।







