सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक दिउँसो ४ बजे फेरि बस्ने गरि स्थगित भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भागबण्डा टुग्याएर आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।
तर अझै भागबण्डामा सहमती जुटेको छैन् ।
गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा दलका नेताहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । नेताहरुको राय सुझावलाई समेटेर आजको बैठकले त्यसलाई अन्तिम रुप दिने तयारी छ । दलहरुले बढी मन्त्रालयमा दाबी गर्दा प्रधानमन्त्रीलाई मन्त्रालय बाँडफाँडमा सकस भइरहेको छ ।
सत्ता घटक नेपाली कांग्रेसले अर्थसहित आठ वटा मन्त्रालयमा दाबी गरिरहेको छ । माओवादीले गृह मन्त्रालय आफूले राख्ने भएपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिन सहमत भएको छ । यद्यपि, प्रधानमन्त्री प्रचण्डलेले कांग्रेसलाई अर्थसहित सात मन्त्रालयमा मात्रै लिन आग्रह गर्दै आएका छन ।
यस्तै, एकीकृत समाजवादी र जसपाले कम्तिमा तीन–तीन मन्त्रालय पाउनु पर्ने अडान लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालयमा दाबी गरेको छ ।
धेरै दललाई सरकारमा समेट्नु पर्ने बाध्यता र दलहरुको अडानका कारण प्रधानमन्त्री प्रचण्ड दबाबमा छन । चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १० दिनसम्म पनिमन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन ।
१० दलको समर्थन पाएका प्रधानमन्त्रीलाई भागबन्डा मिलाउन सकस परिरहेको छ । पुस १० गते बनेको गठबन्धन टुटेसँगै एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालय हेर्दै आएका छन् ।







