झापा । झापाको व्यवसायिक सहर बिर्तामोडमा औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको अग्रसरतामा व्यापार मेलाको तयारी थालिएको हो ।
फागुन ५ गतेदेखि सुरु हुने गरी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गर्न लागिएको छ ।
सोमवार संघले पत्रकारले सम्मेलन गरी महोत्सवको प्रारम्भिक तयारीबारे जानकारी दिएको हो ।
महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले देशव्यापी आर्थिक संकट र मन्दीका बीच व्यवसायिक क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको बताए ।
फागुन १५ सम्म आयोजना हुने महोत्सवमा २५० स्टल रहने व्यवस्था गरिनेछ । तीन लाख दर्शकले महाेत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।
संयाेजक न्याैपानेले महाेत्सवमा ४५ कराेड बराबरकाे काराेवार हुने अनुमान गरिएको बताए । महोत्सवका लागि संघले बिर्तामोडको रामचोक नजिक राजमार्गसँग जोडिएको खालीस्थान छनोट गरेको छ ।
संयाेजक न्याैपानेले महाेत्सवमा भारत, बंगलादेश र पाकिस्तानका उद्यमी पनि सहभागी हुने बताए । उनले याे महाेत्सव झापाको शान भएको उल्लेख गरे ।
मेला व्यवस्थापक ललित सिंखडाले जनसहभागिताका हिसाबले बिर्तामाेडमा यसअघि भएका सबै महाेत्सव सफल भएको बताए । उनका अनुसार महाेत्सवमा बाहिरी देशका १५ वटा स्टल रहनेछन् ।
महाेत्सवलाई व्यवसायीले प्रचारका रुपमा लिने बताउँदै सङ्घका महासचिव अर्जुन मैनालीले करिव एक कराेड रुपैयाँकाे लागतमा महाेत्सव सम्पन्न हुने बताए ।
महोत्सवमा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई परिचय पत्र देखाएमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । निजी विद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट दिने र ७५ बर्ष माथीका ज्येष्ठ नागरिकलाई पनि निशुल्क प्रवेश दिइने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।







