विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफ्नै नेतृत्वमा दल दर्ता गर्न निर्वाचन आयोगमा जानुपर्ने प्रस्ताव अघि सारेका छन्।
उनले पार्टीका केन्द्रीय सदस्यहरूलाई इमेल पठाएर मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्न आयोग जानुपर्ने बताएका हुन्।
मिश्रले राजीनामा दिएको अढाइ महिना हुँदा पनि यसबारे केन्द्रीय समितिमा छलफलसमेत भएको छैन।
निर्वाचन आयोगले साउन ३१ भित्र दल दर्ता गर्न समय दिएको छ।
‘दल दर्ता नगर्नु देशका विभिन्न ठाउँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिवद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ,’ मिश्रले पठाएको पत्रमा उल्लेख छ।
उनले आफू सक्रिय नभए दल दर्ता नहुने स्थिति देखिएको बताएका छन्।
‘कानूनत: म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन। तसर्थ म साथीहरूलाई विनम्र आग्रह गर्दछु। यसलाई गम्भिरतापूर्वक लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु,’ मिश्रले इमेलमा लेखेको कुराबारे उल्लेख गर्दै एक केन्द्रीय सदस्यले भने।
उनले केन्द्रीय समिति बैठक बस्न अहिले कोरम नपुग्ने पनि बताएका छन्। दल दर्ता प्रयोजनका लागि पार्टी कार्यालयमा भने मिनेट बुक राखिने र त्यसमा केन्द्रीय सदस्यले हस्ताक्षर गर्न सक्ने उनले बताए। काठमाडौं बाहिर रहेकाहरूले डिजिटल हस्ताक्षर गर्न सक्ने उनले बताए।
‘नयाँ नेतृत्व (अध्यक्ष) का लागि पार्टी दर्ता भएपछि पनि प्रयास गर्दै रहनु होला तर हाललाई भने सकभर बुधबार नै पार्टीको केन्द्रीय कार्यलयमा मध्यान्ह १२ बजेपछि गएर त्यहाँ राखिएको मिनेट बुकमा हस्ताक्षर गरिदिन आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘राजीनामा दिएका तर मेरोजस्तै राजीनामा स्वीकृत नभएका साथीहरूलाई पनि यो गम्भिर विषयमा सहयोग गरिदिन अनुरोध गर्दछु।’







