गृहमन्त्री बालकृष्ण खाँणले यौन हिंसा दुरुत्साहन गर्न यससम्बन्धी कानूनहरू संशोधन गर्न सरकार सकारात्मक रहेको आज (मंगलबार) बसेको संसद बैठकमा बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा मंगलबार गृहमन्त्री खाँणले बलात्कार तथा यौन हिंसाको घटनाले प्रश्रय पाउनु नहुने बताए। उनले यौन हिंसालाई दुरुत्साहन गर्न तथा बलात्कारबाट प्रताडित नारीहरूलाई सम्मानजनक जीवन जीउन आवश्यक पर्ने कानूनी प्रावधान संशोधन गर्न सरकार सकारात्मक रहेको बताए।
उनले बलात्कारका घटनामा संलग्न पीडकलाई हदैसम्मको सजायको माग गरिने पनि उल्लेख गरे। उनले भने‚ ‘यस्तो सामूहिक बलात्कार, यौनहिंसा, बलात्कारले प्रश्रय नपाओस् भन्नका लागि यस्ता घटनामा संलगग्नहरूलाई हदैसम्मको सजायको माग गरी त्यहीअनुसार नै आवश्यक निर्णय हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। यौन हिंसा दुरुत्साहन गर्ने, बलात्कार र सामूहिक बलात्कारमा प्रताडित भएका नारीलाई सम्मानजनक जीवन जीउने वातावरण तयार गर्न अहिलेको कानूनी प्रावधानहरूलाई संशोधन गर्नुपर्ने, परिमार्जन गर्न सरकार सकारात्मक छ।’
उनले बाँके जिल्लाको राप्ती सोनारी निवासी १६ वर्षकी किशोरीको सामूहिक बलात्कार घटनाका सम्बन्धमा आरोपीहरूलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। मन्त्री खाँणले यौन हिंसाको सम्बन्धमा विद्यालयको पाठ्यपुस्तकमै राखेर हिंसाबाट बच्न र हिंसा भएमा कानूनी कारबाही हुनेबारे जानकारी दिइनुपर्ने बताए।







