जेठ १७ गतेदेखि बेपत्ता भएका एक किशोरको शनिबार बिहान फेला पारेको शव आज उठाइने भएको छ। अछाम पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाहीको शव बिहान कुच्ची भिरमा फेला परेको थियो।त्यसलगत्तै एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाउँदै प्रहरीलाई घटनास्थल जान रोकेका थिए। सोहीक्रममा तनावग्रस्त बनेको विनायक क्षेत्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याससमेत प्रहार गरेको थियो। हिजो अबेर प्रदर्शनकारी एमाले कार्यकर्ता एवम् स्थानीयसँगको सहमतिपछि आज घटनास्थलमा तालिम प्राप्त कुकुरसहित सिआइबी र प्रहरी पुगेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए। उनका अनुसार घटनास्थल पुगेका सुरक्षाकर्मीको टोलीले केहीबेरमा कानुनी प्रक्रिया पूरा गरी शव उठाइने बताइएको छ।
घटनाको छानविनका लागि डिएसपी मनोहर प्रसाद भट्टको नेतृत्वमा ६ सदस्यीय टोली खटाइएको छ। स्थानीय निर्वाचनअन्तर्गत ३० गते मतदानका दिन भएको विवाद लम्बिँदा यस घटनाले पनि राजनीतिक रूप लिएको छ।







