पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ९एनएईटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो ।
हल्का वर्षा भइरहेको समयमा घरभन्दा केही माथि जहाज दुई–तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२, बोक्सेखोलाका विकल बागदासले बताए ।
“हामी खाना खाँदै थियौँ, जहाज धेरैपटक घुमेको थियो,” उनले भने, “हल्का कुहिरो लागेर पानी परिरहेको थियो ।”
उनले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताए । “घरमै ठोकिन्छ जस्तो गरेर दुई–तीनपटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ,” उनले भने, “केही बेरमा अलि माथि उडेर गयो । पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर संकेत’ फेला परेको छ । संकेतानुसार जहाज केही वस्तु वा पहाडमा ठोक्किएको देखिन्छ । तर, जहाज ठोक्किएको आशंका गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने जनाइएको छ ।
सम्पर्कविहीन भएको तारा एयरको विमान १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए ।







