अथक मेहनत र प्रयासका बाबजुत पनि सवै उमेद्वारहरुलाई जिताउन नसकिएको भन्दै नेकपा एमाले बिर्तामोड नगर कमिटीले वडाध्यक्षका चारजना उमेद्वारले हार ब्यहोर्नु परेको विषयमा गम्भीर समीक्षा गर्ने भएको छ ।
नगर कमिटीका अध्यक्ष सुभाष भट्टराईले योग्य र सक्षम चारजना वडाध्यक्षका उम्मेदवार पराजित भएकोप्रति दुःख व्यक्त गर्दै हारको कारण खोजिने र त्यस विषयमा गम्भीर समीक्षा गरिने जानकारी दिए ।
नेकपा एमालेले उठाएका उम्मेदवारमध्ये बिर्तामोड–५ मा राजेन्द्रप्रसाद लिङ्देन, वडा नम्बर–६ मा बुद्धिप्रसाद भट्टराई, वडा नम्बर–८ मा विष्णुकुमार भट्टराई र वडा नम्बर–१० मा रिमानध्वज लोक्ताम पराजित भएका थिए ।
चुनावी प्रचार अभियान र पार्टी प्रतिनिधि परिचालन पछाडिको समग्र रिपोर्टका आधारमा ती वडामा हार नहुने निष्कर्ष एमालेको थियो ।
जित्ने विश्वस्त आधार भएका वडामा हार व्यहोर्नु परेकोप्रति नेता कार्यकर्ताले सामाजिक सञ्जालमा अनेकथरि आलोचना र टिप्पणी गरिरहेका छन् ।
‘हारका मुख्य कारणहरुको बारेमा पार्टीमा सुक्ष्म ढंगले समीक्षा गरिने प्रतिबद्धता व्यक्त गर्दछु’, भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनको स्टाटसमा कमेन्ट गर्ने अधिकांश फेसबुक प्रयोगकर्ताले पार्टीका उमेद्वारप्रति घात गर्नेलाई कार्बाही गर्नु पर्ने धारणा राखेका छन् ।







