मोरङको रंगेली नगरपालिकामा दोस्रोपटक अवरुद्ध मतगणना अझै सुरु हुन सकेको छैन । झापाको गौरादह नगरपालिका र गौरीगन्ज गाउँपालिकाका दुई वडाको मतगणना विवाद पनि टुंगिएको छैन । कमल गाउँपालिकामा भने निर्वाचन कार्यालयले गल्ती भएकामा माफी मागेपछि पुनः गणना सुरु भएको छ ।
रंगेलीमा गएको शुक्रबारदेखि मतगणना स्थगित छ । वडा नम्बर–७ मा गणनाका क्रममा खसेको भन्दा धेरै मत फेला परेपछि गणना रोकिएको हो । मतगणनाका क्रममा १०७ सात मत बढी भेटिएको र सबैतिरको गणना स्थगित भएको नेपाली कांग्रेसका नगर प्रमुख पदका उमेदवार मोदराज घिमिरेले बताए । उनले भने, “गणना सुरु हुनेरनहुने भन्ने अझै अन्योल छ ।”
रंगेली–७ को दुई हजार १३३ मतगणना भइसकेको थियो । गन्न बाँकी मत एक हजार २१६ थियो । तर, ती हजार २४२ मत खसेकामा ती हजार ३४९ मत भेटिएपछि सबैतिरको गणना बन्द भएको घिमिरेले बताए ।
यसअघि, वडा नम्बर–८ को मतपेटिका फुटेको अवस्थामा फेला परेपछि गठबन्धन दलको विरोधका कारण तीन दिन गणना स्थगित भएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफैँ रंगेली पुगेर दलहरूसँग छलफल गरी विवाद मिलाएपछि गणना सुरु गरिएको थियो ।
झापाको गौरीगन्ज गाउँपालिका–१ मा कांग्रेस र नेकपा ९एमाले०का उमेदवारको बराबार मत थियो । तर, त्यसलाई कांग्रेसले नमानेपछि विवाद भएको हो । बराबर मत आएपछि फेरि गणना गर्नुपर्ने कांग्रेसले माग गरेको छ । अरू वडाको गनेर पुनः गणना गर्ने विषयमा जिल्लास्तरमा छलफल भइरहेको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए ।
झापाको गौरादह–७ मा एक मतले पराजित भएका कांग्रेस उमेदवारले परिणाम स्वीकार नभएको बताएपछि विवाद कायमै छ । कांग्रेसका प्रतिनिधिले सही नगरी निर्वाचन कार्यालयले विजयी भएको घोषणा गरेको भन्दै विरोध भएको थियो ।
गौरीगन्को अध्यक्षमा कांग्रेसकी फूलवतीदेवी राजवंशी र उपाध्यक्षमा एमालेकी पुजन न्यौपानेको अग्रता कायम छ ।
झापाकै कमल गाउँपालिका–४ मा आधा गणना भएपछि मत थपेको तथ्यांक भेटिएपछि विवाद सुरु भएको थियो । उपाध्यक्षतर्फ बदर मतलाई सदर बनाएर एमाले उमेदवारको खातामा जोडिएको भन्दै त्यहाँ गणना रोकिएको थियो । निर्वाचन कार्यालयले गणकबाट भएको गलत कार्यबारे माफी मागेर गणक परिवर्तन गरी विवाद मिलाइएको छ ।







