नेकपा एमाले बिर्तामोड नगरपालिकामा यसअघिको विरासत जोगाउँदै नगर प्रमुख र उपप्रमुख जित्न सफल भएको छ । पाँच दलीय गठबन्धनका नाममा भएको चौतर्फी घेराबन्दीलाई चिर्दै एमालेले नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेको हो ।
झापाली राजनीतिको केन्द्र मानिने बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा प्रसाई निर्वाचित भएकी छन् । नेपाली काङ्ग्रेसका उमेद्वार भोजराज सिटौलालाई तीन हजार भन्दाबढी मतान्तरले हराउँदै प्रसाई नगर प्रमुखमा निर्वाचित भएकी हुन् । उपप्रमुखमा एमाले नेता नगेन्द्र संग्रौला निर्वाचित भएका छन् ।

महिला जनप्रतिनिधिको नेतृत्वमा नगर सञ्चालन भएको हेर्न चाहने मतदाताको रोजाईमा परेकी पवित्रा यसअघि उपप्रमुख थिइन् । दोस्रो कार्यकालका लागि नगरपालिकामा उनको राजनीतिक यात्राको ढोका खुलेको हो ।
एमालेविरुद्ध भइरहेको घेराबन्दीलाई तोडेर जीत हासिल गर्ने सक्षम उमेद्वारका रुपमा पार्टी नगर कमिटीले उनको नाम पहिलो नम्वरमा सिफारिस गरेको थियो । त्यसका आधारमा उनी उमेद्वार छानिएकी थिइन् ।
उमेद्वार छनोटको प्राथमिक रणनीति अनुरुप पार्टीले गरेको आन्तरिक निर्वाचनमा पनि मेयरका आकांक्षी अन्य तीन पुरुष प्रतिस्पर्धी भन्दाबढी मत पवित्रालाई प्राप्त भएको थियो ।

उप- मेयर नगेन्द्र संग्रौला गठबन्धन दलका सीपी कडरियालाई हराउँदै एमालेका स्थानीय प्रभावशाली नेता नगेन्द्र संग्रौला उपप्रमुखमा निर्वाचित भएका छन् ।
यसअघि बिर्तामोड–२ मा वडाध्यक्षका रुपमा प्रभावकारी कार्य सम्पादन गरेका संग्रौलालाई पार्टीले बलियो प्रतिस्पर्धीका रुपमा अगाडि सारेको थियो । उनले गठबन्धनका उमेद्वार कडरियालाई दोब्बर मतले हराएका हुन् ।







