शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि झापामा तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्ला भरिकाका ७५५ वटै मतदान केन्द्रमा मतपत्र , मतपेटिकालगायत आबश्यक सबै कागजात र सामग्री पु¥याइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोमबार र मंगलबार मतदान केन्द्रमा मतदानका लागि आबश्यक सामग्री पु¥याइसकेको जिल्ला निर्वाचन अधिकृत तुलसीकुमार नेपालले बताए ।
त्यसैगरी बुधबारदेखि मतदान केन्द्रहरुमा संरचना निर्माण थालिएको छ । बिहीबार दिउँसो ३ बजेसम्म सम्पन्न गर्नेगरी बुथ निर्माणको काम थालिएको उनले जानकारी दिए । झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । १० प्रतिशत जगेडासहित करिव ७ लाख मतपत्र झापा ल्याइएको छ । जिल्लामा २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र रहेका छन् । मतदान सम्पन्न गर्न ४ हजार ३०९ जना कर्मचारी खटाइएको नेपालले जानकारी दिए । सबै कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेका छन् ।
स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यरातबाट मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ।
तर, राजनीतिक दलका नेताकार्यकर्ताले मौन अवधि तोडेका छन्।पार्टी समर्थकहरुले पनि सामाजिक संजालमा मौन अवधिमा समेत भोट मागिरहेका छन् । त्यसबारे निर्वाचन कार्यालयमा उजुरी भने नपरेको नेपालले बताए ।







