झापामा केटी पक्षसँग दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीको विवाहमा बेहुला झापा गाउँपालिका ४ निवासी विश्वेश्वर चौधरीका छोरा २८ वर्षीय डेबिट चौधरीले दाइजोमा मोटरसाइकल मागेका थिए।
बेहुला पक्षले मोटरसाइकल नदिए विवाह नगर्ने भन्दै मण्डपमै विवाद गरेपछि बेहुली पक्षले बेहुला पक्षलाई विपक्षी बनाएर प्रहरीमा उजुरी दिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।
बिहीबार राति बेहुला पक्ष विवाह गर्न बेहुलीको घर पुगेका थिए। राति विवाह सम्पन्न भएपछि बेहुला पक्षले बिहान दाइजोमा मोटरसाइकल माग्दा दुवै पक्षबीच विवाद भएको डिएसपी पाठकले बताए।
यता प्रहरीमा उजुरी परेपछि बेहुला चौधरीलाई प्रहरीले बेहुलीको घरबाटै शुक्रबार नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेको छ। प्रहरीले बेहुलामाथि विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान थालेको जनाइएको छ।







