लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारूढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन्।
नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भए पनि सत्तारूढ दलहरूले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोपसमेत लगाएका छन्।
शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्तारूढ दलहरू चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्नसमेत गरे। देश र दुनियाँले नबुझ्ने गरी सत्तारूढ दलहरूले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाइ थियो।
त्यसैले जनताले पार्टीको आधारमा चुनाव गराउने हो भने कांग्रेस पार्टीलाई कुन पालिका, कुन वडामा जनताले कति भोट दियो, माओवादी पार्टी, जसपा पार्टी, यी पार्टीहरूलाई जनताले कसरी समर्थन गर्यो भनेर कसरी बुझ्ने भन्दै प्रश्न गरे।
नेता महतोले दलीय सिम्टममा दलहरु आफैं निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको तर्क गरे। उनले स्थानीय तहमा आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि उल्लेख गरे।







