राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएका छन्। आज डडेल्धुरा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नै आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका हुन्।
गृहमन्त्री खाँण चितवनको भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई विभिन्न प्रलोभन देखाएर फकाउन गएको प्रति राप्रपाको गम्भीर आपत्ति रहेको प्रवक्ता शाहीको भनाइ छ। उनले गृहमन्त्रीले कानुन र आचारसंहिताको पालना गर्न लगाउनुको सट्टा आफैं नै त्यस उल्लंघनका लागेको उनको आरोप छ।
उनले धम्की र सत्ताको बलमा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउनमा गृहमन्त्री व्यस्त रहनु लज्जास्पद भएको बताए। उनले आचारसंहिता उल्लेखन गर्ने गृहमन्त्री खाँणलाई तत्काल राजीनामा दिन माग गरेका छन्। यसका साथै उनले गृहमन्त्री खाँणलाई कारबाही गर्न पनि निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
उनले सत्ता गठबन्धनलाई पाकेर कुहिएको आलु, गोबर र माटोको संज्ञा दिएका छन्। उनले कांग्रेस, माओवादी र एकीकृत सामाजवादीले मुलुक लुट्नका लागि गठबन्धन बनाएको आरोपसमेत लगाएका छन्।
यसका साथै उनले नेपाली कांग्रेस पार्टी नेकपा माओवादी केन्द्रको समूहमा परिणत भएको पनि बताएका छन्। सत्ता लोप र कुर्सीबाट बाहिरिने डरले कांग्रेस माओवादीको कब्जामा गएको उनको तर्क थियो।
कुनै विधि र कानुन नटेकी कांग्रेस पार्टी निवर्तमान डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई तानाशाह शैलीबाट कारबाही गरी पार्टीबाट निष्कासित गर्नुले कांग्रेस पार्टी कति लोकतान्त्रिक पार्टी हो भन्ने प्रष्ट पारेको बताए।
मुलुकमा भ्रष्टाचार गर्नमा लिप्त सरकारले देश आर्थिक भारमा रहेको बहानामा जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने नाटक मञ्चन गरिरहेको प्रवक्ता शाहीको आरोप छ। सरकारले बिदा बढाउनुको साटो प्रदेश सरकार खारेज गर्नुपर्ने उनको माग छ। उनले पाँच पटक प्रधानमन्त्री पाएको डडेल्धुरा जिल्लाको पूर्वाधार र सामाजिक विकास हेर्दा लाज लागेर आएको बताएका छन्।
उनले बाढीको क्षतिले आपत–विपतमा परेका जनतालाई राहतसम्म दिन नसक्नेबाट धेरै विकासको आशा नराख्न डडेल्धुराका जनतालाई अनुरोध गरे।







