८ वैशाख, काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो ।
बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो । चार जना घाइते भएका थिए ।
घाइतेमध्ये भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको पाटन अस्पतालले पुष्टि गरेको ललितपुरका प्रहरी प्रवक्ता शाहले अनलाइनखबरलाई बताए ।
उनका अनुसार अन्य घाइतेहरु भने उपचार गरेर फर्किसकेका छन् । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैबिच, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अक्सिजन प्लान्टमा विस्फोटमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराउने बताएका छन् ।
बिहीबार दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका मन्त्री बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताएका हुन् ।
उनले विस्फोटमा परी घाइते भएकाहरुलाई सरकारले उपचार गर्ने पनि प्रतिवद्धता जनाए ।
मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी बिस्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताए । उनले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरुलाई बोलाएर नै अनुसन्धान गर्ने बताए ।







