असार १६, बुद्धशान्ति । बुधबारे जेसीजको भवन निर्माणका लागि आर्थिक तथा जिन्सि सहयोग जुट्दै छ । देश तथा विदेशबाट सहयोगी दाताहरुले रकम प्रदान गरेका छन् भने धेरैले सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
जेसीजका निर्वतमान अध्यक्ष नन्दकुमार याफू राईको संयोजकत्वमा भवन निर्माण उपसमिति गठन गरी भवन निर्माणका लागि जेसीजले ‘मेरो पनि योगदान छ’ अभियान शुरु गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए । हालसम्म सो अभियान मार्फत भवन निर्माणका लागि ६ लाख भन्दा बढी रकम र जिन्सि सहयोग जुटेको जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईले बताए ।
यसैबिच जेसीजको भवन निर्माणका लागि जेसीहरुबाट समेत सहयोग जुट्न थालेको छ । जेसीजको भवन निर्माणका लागि तनहुँ जिल्लामा रहेको शुक्लागण्डकी जेसीजका वर्ष २०२१ का अध्यक्ष कृष्णबहादुर श्रेष्ठले पनि आर्थिक सहयोग गरेका छन् । उनले बुधबारे जेसीजका लागि पाँच हजार रुपैयाँ सहयोग गरेका हुन् । शुक्लागण्डकी जेसीज क्षेत्र घ मा पर्दछ भने बुधबारे जेसीज क्षेत्र क मा पर्दछ ।
भवन निर्माणका लागि सकेको सहयोग गर्न भवन निर्माण उपसमितिका आर्थिक संयोजक दीपेन सिटौलाले सबैमा अनुरोध गरेका छन् ।
त्यस्तै जेसीजका महासचिव सुजित बरालले छलिमाया घिमिरे स्मृति जेसीज भवन निर्माणका लागि भवनको स्टिमेट, डिजाइन स्व. छलिमाया घिमिरेका नाती इन्जिनियर अर्जुन घिमिरेले निशुल्क गरिदिने जानकारी दिए । घिमिरे हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । यसैगरी जेसीजलाई झापा बुद्धशान्ति– १ का शिक्षासेवी ज्ञानेन्द्र घिमिरेको परिवारले पनि १० धुर जग्गा निशुल्क उपलब्ध गराएका छन् ।







