काठमाडौं । संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार भएको सभामुख अग्नि सापकोटाले बताएका छन् ।
पूर्वसभामुखहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
पूर्वसभामुखहरुले दुई दुईपटक विघटन गरिएको हुँदा पूर्णयता असंवैधानिक रहेको बताएका थिए ।
पूर्वसभामुख रामचन्द्र पौडेलले देश संकटपूर्ण अवस्थामा रहेको बेला नै जनप्रतिनिधि सभा नभएको बताउँदै सदनबाटै निकास दिनुपर्ने बताएका थिए ।
“राजनीतिकरुपमा संकटग्रस्त अवस्थामा पुर्याइएको छ । देश संकटग्रस्त छ । यस्तो संकटको बेलामा प्रतिनिधिसभा छैन,” पौडेलले पत्रकारहरुसँग कुरा गर्दै भने, “सदनबाटै निकास पाउनुपर्छ । जनतको अस्तित्वमाथि कसैले पनि खेलवाड गर्नुहुँदैन । केही कदम चाल्नुपरे म तयार छु भनेर सभामुखले भन्नुभयो । संसद्को रक्षाका लागि उहाँले कुनै पनि कदम चाल्न तयार रहेको बताउनुभयो ।”
पूर्वसभामुख ओनसरी घर्तीले सरकार बन्ने अवस्था रहँदा रहँदै पनि संसद् विघटन हुनु दुखद् भएको बताइन् ।
“परामर्शको सवालमा अरुसँग पनि छलफल गर्ने बताउनुभयो,” उनले भनिन्, “हामी सबैले एउटै स्वरमा प्रतिनिधि सभा भनेको जनताको प्रतिनिधित्व गर्ने संस्था हो । चारैवटा विकल्प फेल हुने अवस्थामा बल्ल विघटन गर्ने व्यवस्था छ ।”
रक्षकले नै भक्षकको काम गरेको भन्दै निन्दा गरिएको उनले जानकारी दिइन् ।
संविधानमा भएको व्यवस्थाअनुसार संसद्को विशेषाधिकारमाथि पनि छलफल भएको थियो ।







