काठमाण्डाै । नेपालमा एकहप्ता यता कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । अघिल्लो हप्ता सोमबारदेखि हिजो आइतबारसम्म कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
अहिलेसम्मको जम्मा संक्रमितमध्ये निको हुने दर ७६ दशमलव ७ प्रतिशत छ । हरेक दिनको तथ्यांक केलाउँदा भने निको हुने दर कम देखिन्छ । तर एक हप्तायता निको हुने दर बढिरहेको छ ।
आइतबार एकैदिन चार हजारभन्दा धेरै कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।
आठ हजार आठ सय ८५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिएका कोरोना संक्रमितको तुलनामा निको हुनेको दर ४५ दशमलव २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
गएको वैशाख २० गते सोमबार सात हजार दुई सय ११ जना नयाँ संक्रमित थपिएकामा एक हजार सात सय १२ जना निको भएका थिए । यो भनेको एक दिनमा नयाँ थपिएका संक्रमितमध्ये निको हुने दर २२ दशमलव ३५ प्रतिशत हो ।
यस्तै २१ गते सात हजार सात सय ७० जना नयाँ संक्रमित थपिएकामा एक हजार सात सय ७५ जना डिस्चार्ज भएका थिए । यो भनेको थपिएका संक्रमितमध्ये डिस्चार्ज हुनेको संख्या २३ दशमलव १७ प्रतिशत हो ।
२२ गते पनि २१ गतेभन्दा केही कम संख्यामा निको हुने प्रतिशत बढेको छ । २२ गते आठ हजार ६ सय ५९ जना नयाँ संक्रमित थपिएकामा एक हजार नौ सय ९३ जना अर्थात् २३ दशमलव ०१ प्रतिशत निको भएका थिए ।







