झापा । कोभिड १९ संक्रमणले तीब्र गति लिएपछि झापामा आजबाट पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
जील्ला प्रशासन कार्यालयले गएराती १२ बजेदेखि आगामी ३१ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार निषेधाज्ञाको समयमा खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध डेरी, निर्माण सामाग्री पसल लगायत अत्यावश्यक पसल मात्र बिहान ६ देखि १० बजेसम्म संचालन गर्न पाइनेछ ।
त्यस्तै अत्यावश्यक बाहेकका सम्पूर्ण सवारीसाधन संचालनमा समेत रोक लगाइएको छ ।
एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रीकेन्ट, स्वास्थ्य, तरकारी, खाद्यान्न, इन्टरनेट, दूध तथा दुग्धजन्य, पशुपंछी तथा पशुपंछी जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्था, रेडक्रस लगायत अत्यावश्यक सवारीसाधनलाई प्रयोजन खुलाएर संचालन गर्न दिइने जनाइएको छ ।
यसअघि बैशाख १९ गतेबाट जारी गरिएको आंशिक निषेधाज्ञाको समयमा सम्पूर्ण पसलहरु बिहान ११ सम्म खोल्न दिइएको थियो भने सवारीसाधन जोर बिजोर प्रणालीका आधारमा संचालन गर्न दिइएको थियो ।







