नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ ।
जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभर खेल्दै ६ विकेट गुमाएर ९२ रन बनाउँदै पूरा गरेको हो ।
६ खेलमा तेस्रो जित हात पारेको चितवन ७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ र प्लेअफ सम्भावना बलियो बनेको छ । चितवनले लिगको अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल अघि शनिबार विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा पनि चितवनले प्लेअफमा स्थान पक्का गर्नेछ । विराटनगर विजयी भएमा भने चितवनले अन्तिम खेलमा कर्णालीलाई पराजित गर्नुपर्नेछ ।
चितवनले जित हात पार्दा पराजित जनकपुरसँगै कर्णाली याक्स पनि प्लेअफ होडबाट बाहिरिएका छन् । जनकपुरले लिगको ७ वटै खेल खेलिसक्दा जम्मा २ जितबाट ४ अंक मात्र जोड्न सक्यो । यस्तै एक खेल खेल्न बाँकी कर्णालीको ४ अंक मात्र छ । कर्णालीले अन्तिम खेल जितेपनि शीर्ष चारमा पुग्दैन ।
चितवनका लागि डाविड मालानले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए भने कुशल मल्लले १५, रवि बोपारले १३ र कमिल मिशाराले १२ रन जोडे । बलिङमा जनकपुरका लागि राहुल यादवले ३ विकेट लिए भने ललित राजवंशीले २ र विशाल सुशलिङले १ विकेट लिएका थिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो ।
जनकपुरका लागि कप्तान हर्मीत सिंहले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।चितवनका लागि रन्जित कुमारले ३ विकेट लिए भने कप्तान सिकन्दर राजाले २ तथा कमलसिंह ऐरी र रिजन ढकालले १-१ विकेट लिएका थिए ।







