नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले झापाको बिर्तामोड नगरपालिका-७ स्थित कञ्चन बोर्डिङ स्कुलमा देउसी-भैलोसहित विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
विद्यालयमा गठित कञ्चन बाल क्लबको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक परम्परा झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।
परम्परागत भेषभूषामा सजिएका विद्यार्थीहरूले गीत, नृत्य, देउसी-भैलो तथा अन्य मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित अतिथि, अभिभावक र दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।
कञ्चन बाल क्लबकी अध्यक्ष ओजस्वी खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता बिर्तामोड नगरपालिका वडा नं.७ का वडाध्यक्ष कृष्ण अविरल खरेल रहेका थिए ।
विभिन्न कक्षाका विद्यार्थीहरूले समूहगत रूपमा देउसी-भैलो खेल्दै नेपाली मौलिक संस्कृति र परम्पराको जीवन्त झल्को प्रस्तुत गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक दीपक चम्लागाईंले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञानसँगै व्यवहारिक, सिर्जनात्मक र सांस्कृतिक गतिविधिको पनि उत्तिकै महत्त्व रहने बताएका थिए ।
उक्त अवसरमा बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल, मोफसल अनलाइनका सम्पादक भरत प्रसाईं, विद्यालयका सह-प्रधानाध्यापक बद्री बास्कोटा लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, शिक्षक-शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको औपचारिक सत्रको सञ्चालन विद्यालयका शिक्षक डिल्लीराम चम्लागाईंले गरेका थिए ।
क्लबका उपाध्यक्ष रेन्जल बास्कोटाले स्वागत गरेको सांस्कृतिक प्रस्तुतितर्फको सञ्चालन विद्यार्थीहरू पायल विश्वकर्मा, समीक्षा गदाइली र प्रकृति तिम्सिनाले संयुक्त रूपमा गरेका थिए ।







