त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्याइने भएको छ ।
यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा.रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत उनीहरूसम्म सुरक्षित रूपमा पुर्याइनेछ ।
कुल २२ बुँदामा समेटिएको उक्त सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्रलाई व्यवस्थित रूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित (पिआइटिएस) मा दर्ता गरिने छ । यस प्रणालीले कागजातहरू सही ठेगानासम्म पुगेरनपुगेको अनुगमन गर्न सहज बनाउने छ ।







