झापाको भद्रपुरमा विद्यार्थीको प्रतिभा, सिर्जना र क्षमता उजागर गर्ने उद्देश्यले भोलिदेखि तीनदिने विद्यार्थी महोत्सव आयोजना हुने भएको छ ।
उक्त कार्यक्रमको उद्घाटन बुधबार बिहान ११ बजे मेची रंगशालामा हुनेछ ।
भद्रपुर नगरपालिकाको ७५औँ स्थापना वर्ष अर्थात् हीरक महोत्सवको अवसरमा कात्तिक १८ देखि २० गतेसम्म भद्रपुर-८ स्थित मेची रंगशालामा महोत्सव सञ्चालन हुने नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।
‘सीप, सिर्जना र प्रतिभाको उत्सव, समृद्ध भविष्यका लागि विद्यार्थी महोत्सव’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा नगरभित्रका २७ सामुदायिक र ३१ संस्थागत गरी ५८ विद्यालय सहभागी हुने नगर शिक्षा प्रमुख पवित्रा ढकालले बताइन् ।
महोत्सवमा लोकसांस्कृतिक नृत्य, विज्ञान प्रदर्शनी, चित्रकला, हस्तलेखन, हाजिरीजवाफ, चेस, कविता तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिनेछ ।
त्यस्तै दोस्रो दिन विद्यालयबीच अनुभव आदानप्रदान तथा कृत्रिम बौद्धिकता अर्थात् एआईसम्बन्धी कार्यशाला आयोजना गरिने नगर उपप्रमुख राधा कार्कीले जानकारी दिइन् ।
उक्त महोत्सव सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने र विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिने नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले बताए ।







