नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको उल्लासलाई खेलकुदमार्फत आपसी सद्भाव, भाइचारा र एकताको सूत्रमा जोड्ने उद्देश्यले झापाको बिर्तामोड नगरपालिका-२ द्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि संस्थागत विद्यालय (प्याब्सन) को टोलीले जितेको छ ।
प्रतियोगिताको फाइनल खेलमा संस्थागत विद्यालय(प्याब्सन) को टोलीले बिर्तामोड नगरपालिका कर्मचारी टोलीलाई रोमाञ्चक प्रतिस्पर्धामा ४ १ गोल हराउँदै उपाधि जितेको हो ।
संस्थागत विद्यालयको जितमा किरण बाबु भट्टराईले दुई तथा चन्द्रबहादुर गुरुङ र रोशन साहले एक-एक गोल गरेका थिए ।
उपाधिसँगै विजेता संस्थागत विद्यालयले नगद १५ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता बिर्तामोड नगरपालिका कर्मचारी टोलीले १० हजार रुपैयाँ पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा हाईगोल स्कोर चन्द्रबहादुर गुरुङ, बेस्ट फर्वड किरण बाबू भट्टराई, बेस्ट मेड मिल्डर बिक्रम बस्नेत, बेस्ट डिफेन्स केशब पोख्रेल र बेस्ट गोल किप्पर गौरव उप्रेती घोषित भएका छन् ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यता तथा वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पर्यटन पत्रकार मञ्च झापा, बिर्तामोड नगरपालिका कर्मचारी टोली, शिक्षक महासङ्घ बिर्तामोड र संस्थागत विद्यालय (प्याब्सन) ले प्रतिस्पर्धा गरेका थिए ।
चाडपर्वको अवसरमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय सञ्चालक, सञ्चारकर्मी, राजनीतिक दलका नेता तथा कार्यकर्ता र समाजसेवीलाई एउटै खेल मैदानमा जोड्दै आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
वडाध्यक्ष पौडेलले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिबीच आत्मीयता र सहकार्यको वातावरण निर्माण गर्ने बताए ।
कार्यक्रममा शिक्षक महासंघ बिर्तामोड अध्यक्ष युवराज कट्टेल, प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल, पत्रकार पुष्प बराल, एमाले बिर्तामोड अध्यक्ष सुभाष भट्टराई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।







