झापाको बिर्तामोड नगरपालिकाले शुक्रबार विद्यालय बिदा दिएको छ ।
हाल विद्यमान प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका नगर प्रमुख स्तरीय बैठले भोलि विद्यालय विदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।
शिक्षा युवा तथा खेलकुद शाखाबाट प्राप्त निर्देशनलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै असोज ८ गते उच्च सतर्कताका साथ विद्यार्थीहरूको सुरक्षित व्यवस्थापन गर्नका साथै भोलि ९ गते विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई पर्न सक्ने जोखिमबाट बचाउन हिउँदे बर्खे वा स्थानीय विदाबाट मिलान हुने गरी विद्यालय बिदा दिन सबै सामुदायिक, संस्थागत तथा पूर्व प्राथमिक विद्यालयहरूमा बिदा दिने निर्णय गरेको नगरपालिकाले एक सूचनामार्फत जनाएको छ ।
त्यस्तै सम्पूर्ण विद्यालयहरूले उक्त निर्णयको आवश्यक कार्यान्वयन गर्नुहुन तथा अभिभावक ज्यूहरूलाई आफ्ना नानीबाबुहरूलाई सुरक्षित रूपमा घरमै राख्न अनुरोधसहित आवश्यक सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेको छ ।
यसैबीच बिर्तामोड नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाबाट प्राप्त निर्देशनलाई पालना गर्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै शुक्रबार बिर्तामोड नगर प्याब्सन अन्तर्गतका सम्पूर्ण सदस्य विद्यालयहरूमा एक दिन स्थानीय बिदा दिने निर्णय गरेको बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेलले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।







