भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको पठनपाठन सञ्चालन हुन थालेको छ ।
क्षति पुगेका विद्यालय मर्मत र पूर्ण क्षति भएको हकमा अस्थायी संरचना बनाएर पढाउन थालिएको हो ।
नुवाकोटको विदुर नगरपालिकाका अनुसार असोज १ गतेबाट बाढी प्रभावित विद्यार्थीहरूको पठनपाठन सुरु भएको छ । नगरपालिकाको शिक्षा शाखाका विद्यालय निरीक्षक नबराज सापकोटाले अस्थायी संरचना बनाएर पढाउन थालिएको जानकारी दिए ।
उनका अनुसार बाढीले उक्त नगरपालिकामा करिब तीन हजार पाँच सय विद्यार्थी पठनपाठनबाट प्रभावित भएका थिए ।
रसुवाको उत्तरगय गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकले पनि भदौ २४ गतेबाट पठनपाठन थालिएको जानकारी दिए ।
उनका अनुसार गणेश आधारभूत विद्यालयमा होल्डिङ सेन्टर तोकिएकाले यसबारे के कसरी सञ्चालन गर्ने भन्ने छलफल भइरहेको छ ।
उनका अनुसार गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालय र १ वटा निजी विद्यालय सञ्चालनमा थिए तर बाढीले २ वटा सामुदायिक र १ वटा निजी विद्यालय बाढीले बगाएको छ । प्रारम्भिक तथ्यांकअनुसार १३४ विद्यार्थी सम्पर्कविहीन छन् भने १० जना शिक्षकलाई बाढीले बगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख बराबरको हानि भएको छ ।







