नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार कातिक ९ गते सोमबारदेखि प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
लिग चरणका प्रतिस्पर्धा कातिक २९ गतेसम्म जारी रहने छन् । त्यसपछि प्लेअफका खेलहरू हुनेछन् ।
निर्धारित तालिका अनुसार मंसिर १ गते पहिलो क्वालिफायर आयोजना हुनेछ भने त्यसको भोलिपल्ट अर्थात् मंसिर २ गते एलिमिनेटर खेलाइने छ । मंसिर ३ गते दोस्रो क्वालिफायरपछि प्रतियोगिताको निर्णायक खेल मंसिर ५ गते फाइनल खेल हुनेछ ।
प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्ने छन् । एनपीएलका सबै खेलहरू कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट रंगशालामा हुनेछन् ।







