झापा बिर्तामोडका दिनेश ओझाले आफ्नो जन्मदिनको अवसरमा बिर्तामोड-४ स्थित स्नेहा माया घरमा रहेका वृद्धवृद्धालाई खाद्यान्न, तरकारी तथा फलफूल सहयोग गरेका छन् ।
लिङ्कन मन्टेश्वरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा ओझा वंश समाजका केन्द्रीय सचिव समेत रहेका ओझाले सामाजिक उत्तरदायित्व वहन गर्दै आज माया घरमै पुगेर सहयोग गरेका हुन् ।
उनले स्नेहा माया घरका संरक्षक गुरुप्रसाद ओझालाई फलफूल, तरकारी तथा विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।
जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै सहयोग गरिएको ओझाले बताए । उनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा ओझासहित उनकी श्रीमती दीपा, होटल व्यवसायी महासंघका केन्द्रीय सचिव भुपेन्द्र न्यौपाने, लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेल, शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।







