झापाको बिर्तामोड-४ मा अवस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले एमबीए र एमसीएका नयाँ विद्यार्थीलाई स्वागत तथा अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरेको छ ।
सोही अवसरमा कलेजले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुका साथै अनुसन्धान जर्नल ‘जीजेएमसी’ र ‘बिजनेस प्लान’ नामक पुस्तक विमोचन गरेको छ ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका एमफिल तथा पीएचडी कार्यक्रम निर्देशक प्रा.डा.जीवनकुमार ढकाल, कलेजका प्रमुख डा.रुपकप्रसाद खनाल लगायतले दुई पुस्तकको संयुक्त रुपमा विमोचन गरेका थिए ।
कलेजले पहिलोपटक प्रकाशन गरेको अनुसन्धान जर्नल ‘जीजेएमसी’ को संयोजन नीलम संग्रौलाले गरेका थिए भने व्यावसायिक योजना विद्यार्थीहरुद्वारा सम्पादित पुस्तक हो ।
एमबीएतर्फ ३.८९ सीजीपीए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेकी छात्रा प्रिया गिरीलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो । भोटेकोशीमा आएको हिमबाढीका कारण आएको विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलीसहित सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
उक्त अवसरमा स्नातकोत्तर तह अन्तर्गत एमबीए तथा एमसीए अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको थियो भने नयाँ भर्ना भएका विद्यार्थीलाई अनुशासनको शपथ ग्रहणसमेत गराइएको थियो ।
कार्यक्रममा प्रा.डा.जीवनकुमार ढकालले विद्यार्थीहरुले सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके पढाइको वास्तविक औचित्य पूरा हुने बताए ।
कलेजका प्रमुख डा.रुपकप्रसाद खनालले विद्यार्थीहरूलाई व्यावसायिक दक्षता, अनुसन्धान र अनुशासनलाई सँगसँगै अघि बढाउन प्रेरित गरेका थिए ।
कलेजका एमबीए कार्यक्रम संयोजक विमल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सप्तकोशी बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल, जर्नल प्रकाशन संयोजक नीलम संग्रौला, विद्यार्थीका तर्फबाट एमबीएबाट रोशन सुवेदी र अमृता चौधरी तथा एमसीएबाट नवीन प्रसाईंले मन्तव्य राखेका थिए ।







