झापाको बिर्तामोडमा ‘इक्यान लिडर्स मिट ३.०’ हुने भएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको नेतृत्व क्षमता, संस्थागत सुदृढीकरण र राष्ट्रिय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘इक्यान लिडर्स मिट ३.०’ आयोजना गरेको हो ।
इक्यान झापा शाखाले सोमबार पत्रकार सम्मेलन गर्दै असोज २ देखि ४ गतेसम्म बिर्तामोडमा हुने कार्यक्रमको आतिथ्य इक्यान झापा शाखाले गर्ने भएको इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
इक्यानको देशव्यापी नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको लिडर्स मिटको यो तेस्रो संस्करण हो । यसअघि पहिलो इक्यान लिडर्स मिट इक्यान चितवन शाखाको आतिथ्यमा तथा दोस्रो संस्करण इक्यान मकवानपुर शाखाको आतिथ्यमा सम्पन्न भएको थियो । सोही निरन्तरतामा तेस्रो संस्करण आयोजना गर्ने जिम्मेवारी इक्यान झापा शाखाले पाएको हो ।
कार्यक्रममा इक्यान केन्द्र, विभिन्न शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित देशभरबाट करिब १ सय ५० जना नेतृत्व तहका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, सञ्चार सीप, वित्तीय व्यवस्थापन, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र गहन अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।
इक्यानका अनुसार नेपालमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र तीव्र गतिमा विस्तार भइरहेका बेला विद्यार्थीको विदेश अध्ययन, गन्तव्य छनोट, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्बन्ध, विद्यार्थी मोबिलिटी, डिजिटल प्रविधि तथा गन्तव्य मुलुकका बदलिँदा शिक्षा र अध्यागमन नीतिले यस क्षेत्रको भूमिकालाई थप चुनौतीपूर्ण र जिम्मेवार बनाएको छ ।
इक्यान झापा शाखाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा इक्यान केन्द्रीय द्वितीय सचिव आशिक कार्की प्रमुख अतिथि रहेका थिए ।
उक्त पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन इक्यान झापा शाखाका उपाध्यक्ष अशोक भण्डारीले गरेका थिए ।







