भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ सहयोग गरेको छ ।
प्याब्सन नेपालको आह्वानपछि प्याब्सन झापाले जिल्लामा आबद्ध १३९ वटा निजी विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यालय सञ्चालकबाट रकम सङ्कलन गरेको हो ।
उक्त सङ्कलित रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने गरी पठाइएको प्याब्सन झापाले जनाएको छ ।
प्याब्सन झापाको कार्यालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले सङ्कलित रकम प्याब्सनका केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरे, निवर्तमान केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, केन्द्रीय सदस्य श्रवण पोखरेल तथा कोशी प्रदेश उपाध्यक्ष इशुभ पाण्डेलाई हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरणपछि बोल्दै अध्यक्ष कार्कीले पहिलो चरणमा सङ्कलन भएको रकम प्याब्सन केन्द्रीय समितिको खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरणका लागि पठाइएको बताए । उनले राहत अभियानलाई निरन्तरता दिँदै एक साताभित्र थप रकम सङ्कलन गरेर सहयोग रकम १ करोड रुपैयाँ पुर्याउने तयारी रहेको जानकारी दिए ।
केही विद्यालयले अझै सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले दोस्रो चरणमा थप रकम सङ्कलन गरिने कार्कीले बताए । विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा सञ्चालकको सामूहिक सहभागिताबाट सङ्कलित रकम विपद्मा परेका नागरिकको राहतका लागि प्रयोग हुने उनले बताएका छन् ।
प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य एलपी उप्रेती, कोशी प्रदेश सचिव तथा प्याब्सन झापाका सल्लाहकार गौरीमान फागो, जिल्ला पदाधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
प्याब्सन झापाले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका विद्यालयलाई आर्थिक सहयोग अभियानमा सहभागी गराएको हो ।







