झापाको बिर्तामोडमा अवस्थित कञ्चनजङ्घा अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय तथा कञ्चनजङ्घा नमुना कलेजका संस्थापक गुरुभक्त न्यौपानेको स्मृतिग्रन्थ लोकार्पण गरिएको छ ।
जीवन, व्यक्तित्व, योगदान र शिक्षाप्रतिको समर्पणलाई जीवन्त राख्ने उद्देश्यले प्रकाशित ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ शुक्रबार एक विशेष समारोहबीच लोकार्पण गरिएको होे ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि न्यौपानेका गुरु एवं पोखरी माध्यमिक विद्यालय छातेढुङ्गाका पूर्व प्रधानाध्यापक बद्रीप्रसाद ओली रहेका थिए ।
कार्यक्रममा स्मृतिग्रन्थको लोकार्पणसँगै साहित्यकार हरिनारायण भट्टराई तथा सहप्राध्यापक लीलाप्रसाद अधिकारीले पुस्तकको समीक्षात्मक परिचय प्रस्तुत गरेको कार्यक्रममा साहित्यकार तथा शिक्षासेवी भट्टराईलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा विद्यालयलयका विद्यार्थी, अभिभावक, कर्मचारी तथा विद्यालयको तर्फबाट बोनम्यारो क्यान्सरबाट पीडित विद्यार्थी साइमन हस्दाको उपचारका लागि २ लाख २५ हजार सहयोग प्रदान गरिएको थियो ।
यसैबीच गुरुभक्त सरको स्मृतिलाई अझ संस्थागत र चिरस्थायी बनाउने उद्देश्यले १ करोडको अक्षयकोषसहित ‘गुरुभक्त न्यौपाने स्मृति प्रतिष्ठान’ स्थापना गर्ने घोषणा गरिएको विद्यालयका प्रिन्सिपल केशवराज न्यौपानेले जानकारी दिए ।
प्रतिष्ठानमार्फत हरेक वर्ष साहित्य, संस्कृति, कला, खेलकुद तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्की, साहित्यकार लिला उदासी लगायतको आतिथ्यता रहेको थियो ।







