निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको पूर्व निर्धारित कार्यक्रमअनुसार जिल्लास्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता आजदेखि सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा प्याब्सन बिर्तामोड नगर कमिटीमा आबद्ध सबै सदस्य विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने र सिकाइसँग प्रत्यक्ष सरोकार राख्ने अतिरिक्त क्रियाकलापलाई विद्यालय शिक्षाको अभिन्न पक्षका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नगर प्याब्सन बिर्तामोडले जनाएको छ ।
प्रतियोगितामा ११ वटा विभिन्न विधा समावेश गरिएको छ । कक्षा ३ सम्मका विद्यार्थीका लागि रङ्ग भर्ने, कक्षा ५ सम्मका लागि चित्रकला, हाजिरीजवाफ, नेपाली तथा अंग्रेजी निबन्ध लेखन, कक्षा ६ देखि ८ सम्म हाजिरीजवाफ, नेपाली तथा अंग्रेजी निबन्ध लेखन, कविता वाचन, आकस्मिक वक्तृत्वकला लगायतका विधामा प्रतियोगिता सञ्चालन हुनेछ ।
त्यस्तै कक्षा ९ र १० का विद्यार्थीका लागि निबन्ध लेखन तथा आकस्मिक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । वक्तृत्वकला प्रतियोगिता नेपाली र अंग्रेजी दुवै माध्यममा सञ्चालन हुनेछ ।
प्याब्सन बिर्तामोड नगर कमिटी अध्यक्ष सुरेन्द्र खरेलका अनुसार प्रतियोगितामा करिब ८ सय ५० जना विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ ।
कार्यक्रमलाई एकरूपता र निष्पक्ष बनाउन झापाका सबै पालिकामा एउटै प्रश्नपत्र र एउटै समयमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ । प्रश्नपत्र, उत्तरपुस्तिका, निर्णायक तथा व्यवस्थापनलगायत आवश्यक तयारी पूरा भइसकेको नगर कमिटी सचिव दिपङ्कर मैनालीले जानकारी दिए ।
पालिकास्तरमा सम्पन्न हुने प्रतियोगिताबाट छनोट भएका विद्यार्थीबीच भदौ २३ गते जिल्ला
स्तरीय प्रतियोगिता सञ्चालन गरिनेछ । जिल्लास्तरीय कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच हाजिरीजवाफ तथा कक्षा ९ र १० का विद्यार्थीबीच आकस्मिक वक्तृत्वकला प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगिता कन्चनजंगा अङ्ग्रेजी माध्यमिक विद्यालयमा सञ्चालन हुने सह-कोषाध्यक्ष दिपक चौलागाईंले बताए ।







