अन्य समयमा भन्दा वर्षात्मा रोगले बढी सताउँछ । यस समयमा रुघाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले बढी सताउने गर्दछ ।
यस मौसममा खानपानमा विशेष ध्यान दिई सकेसम्म ताजा खानेकुरा खानुपर्ने तथा बासी खानेकुराबाट टाढा रहनुपर्ने पोषणविद् अनुश्री आचार्य बताउँछिन् ।
उनका अनुसार यतिबेला रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन र मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ । संक्रमण, पाचन प्रणालीको कमजोरी र पानीजन्य रोगहरूको जोखिम उच्च हुने भएकाले सन्तुलित, ताजा र सुपाच्य खानपान शैली अपनाउनु पर्छ । यस मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र पेटलाई स्वस्थ राख्ने खानेकुरामा जोड दिनु आवश्यक छ ।
पानी र तरल पदार्थको सेवन
उमालेको पानी: यस मौसममा पानीका स्रोतहरू दूषित हुने सम्भावना धेरै हुन्छ । त्यसैले सधैँ राम्ररी उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउनुपर्छ ।
झोलिलो खानेकुरा: तातो सुप (तरकारी वा कुखुराको मासुको रस) सेवन गर्दा पाचन प्रक्रिया राम्रो हुन्छ र शरीरले ऊर्जा पाउँछ ।
खानेकुराको छनोट र तयारी
ताजा र तातो खाना: पकाएको लामो समय भइसकेको वा बासी खाना खानु हुँदैन । सधैँ ताजा र तातो खाना मात्र खाने बानी बसाल्नु पर्छ ।
सफा तरकारी र फलफूल: सागपात र फलफूललाई प्रयोग गर्नुअघि नुन पानी (साल्ट वाटर) वा पोटासियम पर्मान्गानेट हालेको पानीमा राम्ररी पखाल्नु पर्छ ।
हल्का र सुपाच्य खाना: पाचन प्रणाली कमजोर हुने भएकाले खिचडी, दलिया, र मुङको दाल जस्ता सजिलै पच्ने खानेकुरा उत्तम हुन्छन् ।
आहारमा समावेश गर्नुपर्ने कुराहरू
मसलाहरू: भान्सामा प्रयोग हुने बेसार, अदुवा, लसुन, मेथी र जिरामा एन्टिब्याक्टेरियल गुण हुन्छ । यसले संक्रमणबाट जोगाउँछ ।
मौसमी फलफूल: रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन सी युक्त फलफूल जस्तै कागती, अमला, नासपाती र अम्बा खानु फाइदाजनक हुन्छ ।
एन्टिअक्सिडेन्ट युक्त खानेकुरा: सोँफ, ज्वानो र पुदिनाको सेवनले पेट फुल्ने वा ग्यास्ट्राइटिस (ग्यास्ट्रिक) हुने समस्या कम गर्छ।
नखाने कुराहरू
सडक किनाराका खुला खाजा: चटपटे, पानीपुरी, र खुला राखिएका खानेकुरामा ब्याक्टेरिया र भाइरस तीव्र गतिमा फैलिने हुँदा यस्ता खानेकुरा पूर्ण रूपमा त्याग्नुपर्छ।
काँचो सलाद र सागसब्जी: वर्षाको मौसममा पातदार सागसब्जी (जस्तै बन्दाकोभी, पालुङ्गो) मा कीरा र जीवाणु धेरै हुने भएकाले काँचै खानु हुँदैन । राम्ररी पकाएर मात्र खानुपर्छ ।
अत्यधिक चिल्लो र तारेको खाना: समोसा, पकौडा जस्ता चिल्लो र गह्रौँ खानेकुराले पाचन प्रक्रियालाई झन् ढिलो बनाउँछ र पेट बिगार्न सक्छ ।
सी-फूड र काँचो मासु: यस सिजनमा पानी दूषित हुने र माछा-मासु चाँडै सड्ने भएकाले संक्रमणको खतरा बढी हुन्छ ।







