नेपालका निजी शिक्षण संस्थामा ३ लाख भन्दा बढी व्यक्तिले रोजगारी पाएको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक गरेको हो ।
सर्वेक्षण अनुसार ३ लाख ११ हजार ५१६ जना व्यक्ति निजी शिक्षण संस्थामा संलग्न रहेको देखिएको छ । यो सरकारी शिक्षण संस्थाबाहेकको संख्या हो । यीमध्ये ३ लाख २१ जना तलबरज्याला पाउने कर्मचारी रहेको देखिएको छ । तलब-ज्याला पाउनेमध्ये २ लाख २१ हजार ५०४ जना शिक्षक र ७८ हजार ५१७ जना गैर-शिक्षक कर्मचारी रहेको तथ्यांकबाट देखिएको छ ।
शिक्षण संस्थामा कार्यरत जनशक्तिमध्ये ८१ प्रतिशत पूर्णकालीन र १९ प्रतिशत पार्टटाइमका छन् । गैरशिक्षकतर्फ ९६ प्रतिशत पूर्णकालीन र ४ प्रतिशत पार्टटाइम कर्मचारी रहेको सर्वेक्षणबाट देखिएको छ ।
कर्मचारीमध्ये १ लाख ४५ हजार पुरुष र १ लाख ५४ हजार महिला रहेको देखिएको छ । यसरी हेर्दा निजी शिक्षण संस्थामा काम गर्ने कर्मचारीमा महिलाको संख्या अधिक रहेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ लाई सन्दर्भ वर्ष मानेर सर्वेक्षण सञ्चालन गरेको थियो ।







