गणतन्त्रको सुन्दर पक्ष निर्वाचन हो र निर्वाचनमा मतदान गर्नु र आफूलाई मन पर्ने व्यक्ति छान्नु नागरिककको कर्तब्य हो । यही कुरालाई आत्मसाथ गर्दै झापाको बिर्तामोडमा अवस्थित ईडन गार्डेन एजुकेशन फाउण्डेशनले यो हप्ता विद्यालयमा निर्वाचन सप्ताह गर्दै निर्वाचनको वातावरण सिर्जना गरेको छ, मानौ त्यहाँ कुनै राष्ट्रिय निर्वाचन नै हुँदैछ ।
तर यो विशेष विद्यालयको स्कुल क्याप्टेन छनौटका लागि भएको निर्वाचन थियो । विद्यार्थीले उम्मेदवार मनोनयन, मनोनयन फिर्ता, प्रचारप्रसार मौन अवधि लगायतका चुनावी गतिविधि गरेका थिए । विद्यालयका शिक्षक राजेश गजुरेल निर्वाचन आयुक्त र दिपज्वल बास्कोटा निर्वाचन अधिकृत रहेको निर्वाचन मण्डलमा ‘क’ मतदान केन्द्र र ‘ख’ मतदान केन्द्र गरी कक्षा १ देखि १० सम्मका विद्यार्थीले दुई चरणमा मतदान गरिएको थियो ।
१२ जनाको उम्मेदवारी परेको निर्वाचनमा दुई जानाले मनोनयन फिर्ता लिएर १० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।
क्याप्टेनमा कुल ३८८ मत खसेको निर्वाचनमा पुतली चिन्हकी भूमिका राजवंशीले १३९ मत ल्याउदै निर्वाचित भइन् भने निजकी निकटतम प्रतिद्वन्द्वी आश्रेया शंकरले ७५ मत प्राप्त गरेकी निर्वाचन आयुक्त राजेश गजुरेलले जानकारी दिए ।
त्यस्तै सहायक क्याप्टेनमा क्रिकेट ब्याट चिन्हका अमिज थापाले १०५ मतसहित विजय हासिल गरे भने निकट्तम प्रतिद्वन्द्वी समिर शर्मा १०३ मतसहित उपविजेता बनेका थिए ।
विजेता उम्मेदवारलाई विजयी रर्यालीसहित विद्यालय परिसर परिक्रमा गरि प्रमाण पत्र प्रदान गरिएको थियो भने २२ गते सपथ ग्रहणको कार्यक्रम रहेको सहायक प्रधानाध्यापक खेमराज शर्माले बताए ।
सामाजिक विषय अन्तर्गत निर्वाचन आयोग र निर्वाचन प्रक्रिया अध्यापन गराउनु पर्ने भएकाले यो प्रयोगात्मक सिकाइ प्रभावकारी हुने विद्यालयका संयोजक गीताराम आचार्यले जानकारी दिए ।







