झापाको मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप(एन्टी रेबिज भ्याक्सिन)को अभाव भएको छ ।
सरकारी कोटाअनुसार आउने खोपको आपूर्ति ढिलो भएपछि अभाव भएको नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताइन् । यसले गर्दा स्थानीयले महँगो मूल्य तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य हुनुपरेको उनले बताएकी छन् ।
मेचीनगर नगरपालिका-१० स्थित मेचीनगर आधारभूत अस्पतालमा विगत १५ दिनदेखि खोपको मौज्दात सकिएको हो । स्वास्थ्य शाखा प्रमुख सापकोटाले नगरमा मासिक पाँच सयदेखि एक हजार डोजसम्म खोप खपत हुने भए पनि माथिल्लो निकायबाट महिनामा जम्मा दुई सयदेखि तीनसय डोज मात्र उपलब्ध हुँदा समस्या भएको बताइन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा आउने खोप त्यहाँबाट स्थानीय तहले पाउने व्यवस्था छ । खोपको मात्रा बढाइदिन आग्रह गर्दै प्रदेश आपूर्ति केन्द्रमा पत्राचार गरिए पनि हालसम्म खोप प्राप्त नभएको प्रमुख सापकोटाले जानकारी दिइन् ।







