प्रथम गुरुभक्त न्यौपाने मेमोरियल इन्टर स्कुल नकआउट फुटबल प्रतियोगिताको उपाधि निदि सेकेन्डरी स्कुलले उचालेकाे छ ।
कञ्चनजङ्गा इङ्लिस स्कुलकाे मैदानमा शनिबार भएकाे फाइनल खेलमा निदि स्कुलले देवी माध्यमिक विद्यालयलाई २-१ गोलले स्तब्ध पार्दै उपाधि चुमेकाे हाे ।
निदीले उपाधिसँगै नगद १० हजारसहित मेडल र ट्रफी हात पारेको छ भने उपविजेता देवी माविले नगद ६ हजारसहित मेडल र ट्रफी हात पारेको छ ।
त्यस्तै प्रतियोगितामा आयोजक कन्चनजङ्गा तेश्रो भएको छ । उसले नगद ४ हजार ५०० रुपैयाँसहित मेडल र ट्रफी पाएकाे छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवर्ड, वेष्ट प्लेयर, टप स्कोरर, वेष्ठ कोच र प्रत्येक म्याचको म्यान अफ द म्याचलाई आकर्षक ट्रफी प्रदान गरिएको छ ।
झापाको बिर्तामोड-४ स्थित कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलको आयोजनामा संस्थापक गुरुभक्त न्याैपानेकाे स्मृतिमा गत फागुन ३ गतेदेखि प्रतियोगिता सुरू भएकाे थियाे ।
विद्यालयका संस्थापक तथा निर्देशक शिक्षा क्षेत्रका अग्रज व्यक्तित्व न्यौपानेको स्मृतिलाई जिवन्त राख्न फुटबल प्रतियोगिताको आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल डाक्टर केशवराज न्यौपानेले बताए ।
विद्यार्थीहरूभित्र रहेको अन्तर्निहित प्रतिभालाई उजागर गर्न साथै विद्यार्थीहरूलाई मानसिक तथा स्वस्थ राख्नका लागि प्रतियोगिताको आयोजना गरिएको बताइएकाे छ ।
प्रथम पटक आयोजना गरिएको यस प्रतियोगितामा नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत २० वटा विद्यालयहरूले सहभागिता जनाएका थिए । आगामी दिनमा यस कार्यक्रमलाई बृहत बनाउँदै झापा जिल्लाभरिका स्कुलहरूलाई समेट्ने योजना बनाएकाे विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा भएको फाइनल खेलको उद्घाटन कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयका भाइस प्रिन्सिपल अनन्तकुमार राजवंशीले स्वागत गरेको कार्यक्रममा विद्यालयको गतिविधिका विषयमा जानकारी दिँदै संस्थापक प्रिन्सिपल डाक्टर केशवराज न्यौपानेले कार्यक्रमकाे ओेैचित्यमाथि प्रकाश पारेका थिए ।
संस्थापक स्वर्गीय गुरुभक्त न्यौपानेको नाममा एक करोड रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्ने संस्थापक प्रिन्सिपल न्याैपानेले घोषणा गरेका छन् । उनले उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष सामाजिक क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्ने जनाएका छन् ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि कार्की, विराट ज्योति स्कुलका प्रिन्सिपल गणेश ओली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक तथा खेल संयोजक दिपक सिटौलालले गरेका थिए ।







